कर्णाली प्रदेश यू–१६ छनौट क्रिकेट खेल्ने सल्यानी टोलीको बिदाइ

सल्यान, ३ जेठ ।
एसीसी मेन्स यू–१६ इष्ट जोन कप २५ का लागि कर्णाली प्रदेश छनौट क्रिकेट खेल्ने सल्यानी टोलीको बिदाइ गरिएको छ । शनिवार जिल्लाको सदरमुकाम खलंगामा एक कार्यक्रमका विचमा शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारी र जिल्ला क्रिकेट संघ सल्यानका अध्यक्ष तथा शारदा नगरपालिका–२ का वडाअध्यक्ष सविन हमालले बिदाइ गर्नुभएको हो । जिल्लास्तरीय दुईदिने छनौट प्रतियोगिताबाट छनौट भएका १४ जना खेलाडीलाई विदाइ गरिएको हो ।

क्रिकेट खेलाडीलाई शुभकामना सहित विदाइ गर्दै नगरप्रमुख भण्डारीले आफ्नो र सिंगो सल्यानीको प्रतिष्ठालाई उचो राख्ने गरि खेलप्रर्दशन गर्न सुझाव दिनुभएको छ । खेल स्वास्थ्यका लागि मात्रै नभएर प्रतिष्ठा र गरिमासँग पनि जोडिएकाले अनुशासित, मर्यादित भएर उत्कृष्ट प्रर्दशन गर्न उहाँले सुझाव दिनुभएको हो । अध्यक्ष हमालले जिल्लाको प्रतिनिधित्व गर्दै प्रदेशस्तरको खेल खेल्न पाउनु गौरवको बिषय भएकाले यसलाई सफलतासँग जोडेर खेल्न सुझाव दिनुभएको छ ।

टोलीको टिम क्याप्टेनमा विष्णु वली रहनुभएको छ । यस्तै सुमित भण्डारी (विकेट किपर), मिशन बस्नेत, अनिश डाँगी, कुशल डाँगी, विमोचन थापा, जोखिराम केसी, सन्देश वली पर्नुभएको छ । यस्तै देवराज वली, सुर्य सुनार, प्रिन्स सेजवाल, अमर बस्नेत, सागर बस्नेत र आर्यन सेजवाल पनि टिममा अटाउनुभएको छ । टिम प्रशिक्षकमा कुल बहादुर थापा र टिम व्यवस्थापकमा यज्ञ बहादुर खड्का रहनुभएको छ ।

कर्णाली प्रदेश छनौट क्रिकेटमा सल्यान सहित सुर्खेत, दैलेख, कालिकोट र रुकुम पश्चिम सहभागि भएका छन् । सल्यानले पहिलो खेल आइतवार कालिकोटसँग खेल्ने छ भने दोस्रो खेल सोमबार सुर्खेतसँग खेल्ने छ । पाँच टोली सहभागि खेलमा लिग चरणबाटै एक टोली बाहिरिदा चार टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । फाइनल खेल बुधबार हुने छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस