शारदा मेयर कप क्रिकेट अपडेट : छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी

सल्यान, ७ बैशाख ।
सल्यानमा सञ्चालित दोस्रो शारदा मेयर न्यु एयर टि–ट्वान्टी कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा त्रिबेणी गाउँपालिका विजयी भएको छ । शारदा नगरपालिकाको आयोजना तथा जिल्ला क्रिकेट संघ सल्यानको समन्वयमा जारी अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिताको आइतवार विहान सम्पन्न खेलमा छत्रेश्वरी गाउँपालिकालाई २१ रनले हराउदैँ त्रिबेणी गाउँपालिका विजयी भएको हो । लुहापिङ खेलमैदानमा छत्रेश्वरीले टस जितेर पहिले फिल्डिङ रोजेपछि त्रिबेणीले ब्याटिङ गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको त्रिबेणी १९ ओभर ४ बलमा अलआउट हुदैँ ११९ मा समेटिएको थियो ।त्रिबेणीका लागि सुमित भण्डारीले अर्धसतक बनाउनुभयो । उहाँले ५५ बलमा ५३ रन बनाएर पवेलियन फर्किनुभयो । त्रिबेणीकै सुरज केसीले ४ बलमा १० रन वनाएपनि अरु ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । त्रिबेणीले अतिरिक्त ३० रन पायो । छत्रेश्वरीका निराजन बुढाथोकीले ४ ओभरमा २२ रन खर्चिदै ३ विकेट लिनुभयो । यस्तै मदन खत्रीले २ तथा निराजन श्रेष्ठ, सञ्जय हमाल, सञ्जिव रसाईली र मोहन केसीले समान १/१ विकेट लिनुभयो ।

१२० रनको मध्यम लक्ष्य पछ्याएको छत्रेश्वरी १७ ओभर २ बलमा अलआउट भयो । छत्रेश्वरीका लागि सञ्जय हमालले सबैभन्दा धेरै ३२ बलमा २४ रन वनाएपनि जीतका लागि प्रर्याप्त हुन सकेन् । छत्रेश्वरीका बिनोद बुढाथोकी ११ रन, आशिष बुढाथोकी ११ रन, सञ्जिव रसाईली १० रनमा समेटिनुभयो । छत्रेश्वरीले अतिरिक्त २९ रन पायो । छत्रेश्वरीलाई सस्तैमा समेट्ने क्रममा त्रिबेणीका सुरज केसीले ४ ओभरमा ५ रन दिदैँ ३ विकेट लिनुभयो । यस्तै सुन्दर रेउलेले ३ तथा बिमल कुमार पुन र सोमराज केसीले १/१ विकेट लिनुभयो । चोटका कारण छत्रेश्वरीका एक ब्याटर रिटायर्ड आउट हुनुभयो ।

यसखेलमा उत्कृष्ट बलिङ र ब्याटिङ गर्ने त्रिबेणीका सुरज केसी प्लेयर अफ द म्याच घोषित हुनुभयो । प्रतियोगिताको विजेता टोलीले एक लाख नगद र उपविजेता टोलीले पचास हजार नगद प्राप्त गर्ने छ । स्रोत सल्यान टुडे

प्रकाशित मिति : २०८२ बैशाख ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस