
सल्यान, ७ फागुन
सल्यानको कपुरकोटमा आजदेखि छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ कपुरकोट गाउँपालिकास्तरीय प्रतियोगिता प्रारम्भ भएको हो।
कपुरकोट गाउँपालिका–६ स्थित कालिका माविमा आयोजित प्रतियोगिताको उद्घाटन सल्यान जिल्ला समन्वय समितिका संयोजक बेला राम रावतले गर्नुभएको थियो।
कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुन ले खेलकुद विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासका लागि महत्त्वपूर्ण भएको बताउँदै प्रतियोगिता यसै उद्देश्यले आयोजना गरिएको बताउनुभयो।
उद्घाटन समारोहमा सल्यानका प्रमुख जिल्ला अधिकारी सावित्रा पुन, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको उक्त प्रतियोगिता फागुन ९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।