छत्रेश्वरी गाउँपालिकाको ५२ करोडको बजेट पारित, सुशासन र पूर्वाधारमा प्राथमिकता

सल्यान, १० असार ।

छत्रेश्वरी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रुपमा पारित गरेको छ ।
मंगलबार भोटेचौर स्थित गाउँपालिकाको सभाहलमा सम्पन्न गाउँसभाको १८ औँ अधिवेशनले आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम र रु. ५२ करोड ५३ लाख ३८ हजार १ सय ९४ रुपैया बराबरको बजेट सर्वसहमतिका साथ पारित गरेको हो ।

गाउँसभाका अध्यक्ष श्री ओज बहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न गाउँसभामा अध्यक्षले प्रस्तुत गरेको निति कार्यक्रममा सुशासन तथा संस्थागत विकास, न्यायिक सेवा तथा नागरिकका हक–अधिकारको संरक्षण, स्थानीय संस्कृति, भाषा र परम्पराको संरक्षण, अन्तरसरकारी समन्वय र साझेदारी, सहकारी तथा गरिवी निवारण एवं आन्तरिक लेखा परिक्षण तथा जीन्सी व्यवस्थापनका सन्दर्भमा विभिन्न नीतिहरु समावेश गरिएको छ । उनले चालु आर्थिक वर्षको हालसम्मको उपलब्धी समेत संक्षेपमा प्रस्तुत गर्नुहुँदै गाउँपालिकाले ३० किमि बढी नयाँ सडक निर्माण, २ हजार १८६ मिटर सडक कालोपत्रे गरिएको र ३८ किमि सडक स्तरोन्नती तथा ६८ किमि बढी सडक मर्मतसम्भार गरिएको उल्लेख गरे ।

गाउँसभा उपाध्यक्षले बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्षको लागि १६ औँ अधिवेशनबाट ४९ करोड ४७ लाख २६ हजार बजेट विनियोजन भएकोमा असार ८ सम्म ३५ करोड ७४ लाख ७९ हजार ६९९ रुपैयाँ खर्च भइ ७१ प्रतिशत प्रगति हाासिल भएको उल्लेख गरिन् । आगामी आर्थिक वर्षको लागि चालु तर्फ १३ करोड ३९ लाख २ हजार तथा पुँजीगत तर्फ ८ करोड ९० लाख ६४ हजार १९४ रुपैयाँ विनियोजन गरिएको छ ।

अधिवेशनमा गाउँसभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरुले शुभकामना मन्तव्य समेत प्रस्तुत गरेका थिए भने गाउँसभाका अन्य सदस्यहरुले छलफलमा भाग लिएका थिए ।

प्रकाशित मिति : २०८२ असार १० गते बुधवार
प्रतिक्रिया दिनुहोस