शिक्षा, स्वास्थ्य र खानेपानी केन्द्रमा राख्दै सिद्ध कुमाखको ३५ करोडको बजेट पारित

सल्यान, १० असार।
सिद्ध कुमाख गाउँपालिकाको १७ औं गाउँसभा अन्तर्गत दोस्रो बैठक सोमबार सम्पन्न भएको छ । सभाध्यक्ष भरत गिरीको अध्यक्षतामा सम्पन्न बैठकमा गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेतले आर्थिक वर्ष २०८२र८३ का लागि नीति, कार्यक्रम तथा वार्षिक बजेट प्रस्तुत गर्नुभएको हो।

गाउँपालिकाले आगामी वर्षका लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कूल ३५ करोड ३७ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । उक्त बजेटमध्ये २७ करोड १२ लाख ३० हजार अर्थात् ७६.६७ प्रतिशत चालु खर्चका लागि र ८ करोड २४ लाख ७० हजार अर्थात् २३.३३ प्रतिशत पुँजीगत खर्चका लागि छुट्याइएको छ।
उपाध्यक्ष बस्नेतद्वारा प्रस्तुत बजेट अनुसार गाउँपालिका कार्यालयमार्फत ९ करोड ९० लाख ९१ हजार ४३८ रुपैयाँ विनियोजन गरिएको छ । जसमध्ये ६ करोड ५९ लाख ४१ हजार ४३८ चालु खर्चमा र ३ करोड ३१ लाख ५० हजार पुँजीगत खर्चमा छुट्याइएको हो।
शिक्षा, युवा तथा खेलकुद क्षेत्रका लागि २ करोड ५८ लाख १० हजार, स्वास्थ्य क्षेत्रमा १ करोड ४५ लाख ३० हजार, कृषि क्षेत्रमा २६ लाख ३० हजार, पशुपन्छी विकासका लागि २४ लाख ९० हजार र महिला तथा बालबालिकाको सशक्तीकरणका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ।
यस्तै, दिगो खानेपानी, सरसफाई तथा स्वच्छता परियोजना कार्यान्वयनका लागि साझेदारी मार्फत ८० लाख ११ हजार ५६२ रुपैयाँ र वडा कार्यालयतर्फ १ करोड ५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
संघीय र प्रदेश सरकारमार्फत प्राप्त सशर्त कार्यक्रमहरूका लागि १८ करोड ८६ लाख ३७ हजार रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाले जानकारी दिएको छ। मंगलवार सम्पन्न गाउँसभाले आगामी वर्ष लागू हुने नीति तथा कार्यक्रम २०८२, बजेट तथा कार्यक्रम २०८२, विनियोजन विधेयक २०८२, आर्थिक विधेयक २०८२ तथा आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व विधेयक २०८२ समेत सर्वसम्मत रूपमा पारित गरेको छ।
गाउँपालिकाले पारित गरेको बजेट तथा कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, महिला सशक्तीकरण र पूर्वाधार विकासमा प्राथमिकता दिइने गाउँपालिकाले जनाएकाे छ।

प्रकाशित मिति : २०८२ असार ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस