शारदा नगरपालिकाको १ अर्ब १९ करोडको बजेट सार्वजनिक, शिक्षा र स्वास्थ्यमा उच्च प्राथमिकता

सल्यान, ५ असार ।
शारदा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब १९ करोड २९ लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बिहीबार नगरप्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा सम्पन्न नगरसभाको अधिवेशनमार्फत उपप्रमुख सुस्मिता सापकोटा सुनारले बजेट प्रस्तुत गर्नुभएको हो। नगरसभाले सो बजेटलाई सर्वसम्मत पारित गरेको छ।

यसअघि २०८१/०८२ मा ८२ करोड ७१ लाख ९७ हजार रुपैयाँको बजेट ल्याइएको थियो। यो वर्षको बजेट अघिल्लो वर्षको तुलनामा झण्डै ३७ करोडले बढी रहेको छ।

बजेटका मुख्य स्रोततर्फ २ करोड रुपैयाँ आन्तरिक आम्दानीबाट जुटाउने र बाँकी १ अर्ब १७ करोड २९ लाख १२ हजार रुपैयाँ संघ तथा प्रदेश सरकारबाट अनुदानमार्फत प्राप्त गर्ने लक्ष्य राखिएको छ। आन्तरिक आम्दानी भूमि तथा मालपोत कर, व्यवसाय कर, सेवा शुल्क, जरिवाना, मालपोत कार्यालयको हिस्सा लगायतबाट उठाउने योजना छ।

कार्यक्रमगत विनियोजनमा शिक्षा, युवा तथा खेलकुद क्षेत्रमा २५ करोड ८५ लाख रुपैयाँ विनियोजन गरिएको छ भने स्वास्थ्य तथा पोषणतर्फ ५ करोड ८९ लाख ३८ हजार छुट्याइएको छ। कृषि र पशु सेवा क्षेत्रमा क्रमशः ५८ लाख २० हजार र ३७ लाख ५० हजार विनियोजन गरिएको छ। महिला, बालबालिका तथा समाज कल्याणमा २० लाख, खानेपानी तथा सरसफाइमा ४६ करोड २४ लाख ७३ हजार र सहकारीमा १० लाख छुट्याइएको छ।

त्यस्तै, वातावरण, सूचना प्रविधि, विपद् व्यवस्थापन, अध्ययन अनुसन्धान, स्वास्थ्य उपचार कोष, मर्मत सम्भार, पोषण कोशेली, कार्यालय सञ्चालन, पारिश्रमिक, वडागत कार्यक्रम, रोजगारी र पूर्वाधार योजनालगायतका शीर्षकमा पनि उल्लेख्य बजेट विनियोजन गरिएको छ।

बजेटबारे बोल्दै नगरप्रमुख भण्डारीले यसलाई समावेशी, न्यायोचित र विकासमुखी भएको बताउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, रोजगारी र सामाजिक सुरक्षामा सुधार ल्याउने उद्देश्यसहित बजेट तयार पारिएको उल्लेख गर्नुभयो। उपप्रमुख सापकोटाले स्रोतको सम्भाव्यता, नागरिकको आवश्यकता र योजनाको प्राथमिकतालाई आधार मानेर बजेट निर्माण गरिएको जानकारी दिनुभयो। यसअघि नगरपालिका नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ।

प्रकाशित मिति : २०८२ असार ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस