सल्यानका तीन पालिकामा कृषि योजनाको अनुगमन: करोडौं लगानीमा पूर्वाधार निर्माण

सल्यान, १४ असार ।
कृषि विकास कार्यालय सल्यानद्वारा सञ्चालन तथा निर्माण सम्पन्न भएका विभिन्न कृषि योजना र पूर्वाधारहरूको अनुगमन गरिएको छ। शारदा नगरपालिका, सिद्ध कुमाख गाउँपालिका र बागचौर नगरपालिकामा सञ्चालनमा रहेका योजनाहरूको स्थलगत अनुगमन गरिएको हो।
शारदा नगरपालिका ७, मा निर्माण सम्पन्न लामागरा सिँचाइ कुलो योजनाले हाल ३ सय रोपनी क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याएको छ। यस योजनाको कुल लागत ४ लाख १८ हजार ४ सय ७८ रुपैयाँ रहेको छ। जसमध्ये कार्यालयको ३ लाख ३३ हजार २ सय ६० रुपैयाँ अनुदान र ६८ हजार ४ सय ७८ रुपैयाँ लाभग्राहीको लगानी रहेको छ।
सिँचाइ सुविधा विस्तारसँगै कृषक उत्साहित भएका छन्। २५ रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आउनुभएका कृषक उत्तम थापाले पहिले कच्ची कुलोका कारण सिँचाइमा समस्या भएको बताउँदै अहिले पक्की कुलो बनेपछि खेतीमा अझै लगाव बढेको बताउनुभयो।
“पहिले कच्ची कुलो हुँदा पानीको अस्थायी व्यवस्थाले धेरै समस्या हुन्थ्यो। अहिले पक्की कुलो बनेपछि खेतमा भरपर्दो सिँचाइ पुगेको छ। अहिले झनै तरकारी खेतीमा लाग्ने हौसला बढेको छ” उहाँले भन्नुभयो।

सिद्ध कुमाख गाउँपालिका,२ मा ४ लाख ७६ हजार ४ सय २९ रुपैयाँ लागतमा निर्माण सम्पन्न बिच सिँचाइ कुलो र वडा नम्बर १, पटारेमा कार्यालयको ५ लाख रुपैयाँको अनुदानमा निर्माण सम्पन्न सिँचाइ योजनाको समेत अवलोकन गरिएको छ।
यस्तै, बागचौर नगरपालिका ७, घर्ती गाउँमा चक्लाबन्दी खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत कागती खेतीको पनि अनुगमन गरिएको छ। दलित तथा जनजाति उत्थान बहुउद्देश्यीय कृषि समूहमार्फत सञ्चालित उक्त योजना १० लाख रुपैयाँ लागतमा सम्पन्न भएको हो। कृषि कार्यालयको ५ लाख ६७ हजार रुपैयाँ अनुदान र लाभग्राहीको ५ लाख ३७ हजार रुपैयाँ लगानीमा कार्यक्रम सञ्चालन भएको हो। हाल उक्त क्षेत्रमा २५ जना कृषकले करिब ३ हजारभन्दा बढी कागतीका बिरुवा रोपेका छन्। स्थानीय कृषक मदन घर्तीले कार्यालयको छनोटमा परेकोमा खुशी व्यक्त गर्दै यस कार्यक्रमले मनग्ये आम्दानीको अपेक्षा गर्न सकिने बताउनुभयाे। “पहिले कालापहाड जान्थ्यौं, अहिले देशमै केही गरौं भन्ने सोचले युवाहरू खेतीमा आकर्षित भएका छन्,” उहाँले भन्नुभयाे।

त्यस्तै, बागचौर नगरपालिका ९, डाँगी गाउँमा बाँझो जमिनमा तरकारी तथा सुन्तला खेती गरिरहेका डाँगी बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक प्रकाश डाँगीले पनि आफ्नो अनुभव सुनाउनुभयाे। बाझो जमिनमा कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदानसहित २ लाख रुपैयाँ लागतमा सुन्तला खेती गर्दै आउनुभएका उहाँले यस्ता योजनाले गाउँमै केही गर्ने सपना बोकेकालाई प्रेरणा दिएको बताउनुभयाे।

यसैगरी बागचौर नगरपालिका ९, मा निर्माण सम्पन्न भकारो सुधार कार्यक्रमको पनि अवलोकन गरिएको छ।
अनुगमन कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल, उपप्रमुख असबिर बुढाथोकी, जिल्ला समन्वय अधिकारी राजन घिमिरे, शाखा अधिकृत निमबहादुर वली, समिति सदस्य बालकृष्ण भण्डारी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाइ सल्यानका प्रमुख केशव बस्नेत, कृषि विकास कार्यालयका सूचना अधिकारी ईश्वरी नारायण घर्ती, प्राविधिक सहायक वसन्त रेग्मी, सब इन्जिनियर विक्की बुढाथोकी लगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २०८२ असार १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस