त्रिवेणी गाउँपालिका लेखापरीक्षणमा कर्णाली प्रदेशकै उत्कृष्ट: महालेखापरीक्षकबाट प्रशंसा पत्र

सल्यान, १६ असार।
महालेखापरीक्षकको कार्यालयको ६७औँ वार्षिक उत्सवका अवसरमा सल्यानको त्रिवेणी गाउँपालिकाले उत्कृष्ट लेखापरीक्षण कार्यका लागि प्रशंसा पत्र प्राप्त गरेको छ।
आर्थिक वर्ष २०८०र८१ को लेखापरीक्षणमा लेखापरीक्षण अंकको तुलनामा सबैभन्दा न्यून बेरुजु देखिएको र कायम रहेको बेरुजु मध्ये सबैभन्दा बढी ३ करोड ७९ लाख १३ हजार रुपैयाँ फर्स्यौट गरी सम्परीक्षण गराएको उल्लेखनीय योगदानका आधारमा त्रिवेणी गाउँपालिकालाई सम्मान गरिएको हो।
महालेखापरीक्षकको कार्यालयले असार १५ गते सम्पन्न ६७औँ वार्षिकोत्सव समारोहमा देशभरका सातै प्रदेशबाट उत्कृष्ट लेखापरीक्षण फर्स्यौट गर्ने एक-एक स्थानीय तहलाई प्रशंसा पत्र प्रदान गरेको थियो।

यस क्रममा कर्णाली प्रदेशबाट त्रिवेणी गाउँपालिका सल्यान, कोशी प्रदेशबाट सोलुदुधकुण्ड नगरपालिका सोलुखुम्बु, मधेश प्रदेशबाट ईशनाथ नगरपालिका रौतहट, बागमती प्रदेशबाट मण्डनदेउपुर नगरपालिका काभ्रेपलाञ्चोक, गण्डकी प्रदेशबाट अन्नपुर्ण गाउँपालिका म्याग्दी, लुम्बिनी प्रदेशबाट पाणिनी गाउँपालिका अर्घाखाँची र सुदूरपश्चिम प्रदेशबाट पञ्चदेवल विनायक नगरपालिका अछाम प्रशंसित भएका थिए।
त्रिवेणी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीले बेरुजु शून्य बनाउने अभियानलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्दै यस उपलब्धिमा योगदान पुर्‍याउने सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरूलाई धन्यवाद दिनुभएको छ।

प्रकाशित मिति : २०८२ असार १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस