सल्यान, ३२ असार
सल्यानकाे कपुरकोट गाउँपालिका–५, सल्लाममा जैविक प्रविधिको प्रयोग गर्दै सडक संरचना संरक्षण र स्थायीत्व सुधारका लागि सामूहिक श्रमदान कार्यक्रम आयोजना गरिने भएको छ।
साउन १ गते बिहान ८ बजे कपुरकोट–५ स्थित सल्लाम (कपुरकोट–स्वर्गद्वारी सडक खण्ड अन्तर्गत) मा आयोजना गरिने कार्यक्रम “सार्वजनिक निर्माण प्रभावशाली बनाउने” गाउँसभाको नीति तथा कार्यक्रम अनुसार सञ्चालन गर्न लागिएको गाउँपालिकाले जानकारी दिएको छ।
कार्यक्रम अन्तर्गत सल्लाम क्षेत्रमा पहिरो नियन्त्रण, सडक संरक्षण तथा सडकछेउको हरियाली विस्तारका लागि खर, बावियो, अंसिरो, निगालोजस्ता घाँस रोप्ने कार्य गरिने भएको हो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, बुद्धिजीवी, टोल विकास संस्था, वडा सदस्य, युवा र विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ।
गाउँपालिकाले कार्यक्रम सफल बनाउन सम्पूर्ण सरोकारवाला, स्थानीय बासिन्दा र सामुदायिक संघसंस्थाहरुलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई सहयोग गर्न अनुरोध गरेको छ।





