त्रिवेणीका उत्कृष्ट कृषकलाई पुरस्कारः खसीबोका बिक्रीबाट ३ करोडभन्दा बढी आम्दानी

सल्यान, ७ असार ।

सल्यानको त्रिवेणी गाउँपालिकामा उत्कृष्ट कृषकलाई पुरस्कार सहित सम्मान गरिएको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी पालिका भित्रका ६ जना किसानलाई उत्कृष्ट कृषक पुरस्कार सहित सम्मान प्रदान गरेको हो । जसमा कृषि तथा पशुपंक्षिका क्षेत्रमा उल्लेखनीय काम गरे बापत ६ कृषकलाई सम्मान गरेको गाउँपालिकाले जनाएको छ ।

सम्मानित हुनेमा गौरीदिदि बाख्रापालन फर्म त्रिवेणी गाउँपालिका ४ फालाबाङका सञ्चालक सुक कुमारी रोका , महतरा कृषि तथा पशुपंछी फर्मका सञ्चालक सावित्रा महतरा, प्रगतिशिल भैसीपालन उद्योगका सञ्चालक गिरिराज वली, न्यु बागेश्वरी कृषि तथा फलफुल फर्मका सञ्चालक पोखर सिंह डाँगी, नमस्ते त्रिवेणी कृषि तथा पशुपन्छी फर्मका सञ्चालक पोषण राज रावत र गोकर्ण कृषि तथा पशुपन्छी फर्मका सञ्चालक ज्ञान बहादुर खत्री रहनुभएको छ ।

गाउँपालिकाको पशु सेवा शाखा प्रमुख वसन्त रावतका अनुसार, प्रत्येक कृषकलाई नगद २० हजार रुपैयाँसहित कदरपत्र प्रदान गरिएको हो। आवेदन आह्वान गरी प्राप्त विवरणका आधारमा स्थलगत अनुगमनपछि उत्कृष्ट कृषक छनोट गरिएको उहाँले बताउनुभयो।

तीन दशकदेखि बाख्रापालनमा संलग्न सुक कुमारी रोकाले पछिल्लो ६ वर्षदेखि व्यावसायिक बाख्रापालन गर्दै आइरहनुभएको छ। उहाँको फार्ममा हाल ५० भन्दा बढी खसी, बोका र बाख्रा छन्। वार्षिक तीन लाख रुपैयाँभन्दा बढी आम्दानी हुने बताउने रोकाले पुरस्कार ग्रहण गर्दै यस पुरस्कारलले आफूलाई थप प्रोत्साहन मिलेको बताउनुभयो। ‘‘तीन दशक अघि सामान्य रूपमा बाख्रा पाल्न थालेकी थिएँ, अहिले व्यवसायिक फार्म चलाइरहेकी छु’ वार्षिक तीन लाखभन्दा बढी आम्दानी हुन्छ। पालिकाले गरेको सम्मान तथा पुरस्कारलले मलाई अझ उत्साहित बनाएको छ’’ उहाँले भन्नुभयो ।

त्यस्तै पुरस्कार ग्रहण गर्दै त्रिवेणी गाउँपालिका–४ कै कृषक पोषणराज रावतले पनि गाउँपालिकाले सम्मान गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । पुरस्कारले आफुलाई अझै कामगर्ने हौसला थपेको उहाँको भनाइ छ । ‘मैले १२ रोपनी क्षेत्रफलमा तरकारी खेती गरेको छु, यो भन्दा पहिले कसैले सम्मान गरेको थिएन्, उल्लेखनीय काम गरे बापत त्रिवेणी गाउँपालिकाले पहिलोपटक उत्कृष्ट कृषकको रुपमा सम्मान ग¥यो झनै काम गर्न हौसला बढेको छ’ उहाँले भन्नुभयो ।

उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खिम बहादुर रावत ले कृषकलाई प्रेरणा मिलोस् भनेर हरेक वर्ष उत्कृष्ट कृषक सम्मान गर्दै आएको र आगामी दिनमा कृषि र पशुपालनलाई विशेष प्राथमिकता दिने योजना रहेको बताउनुभयो। ‘‘हामी हरेक वर्ष कृषकको मनोबल बढाउन उत्कृष्ट कृषकलाई सम्मान गर्दै आएका छौँ। कृषि र पशुपालन हाम्रो प्राथमिक क्षेत्र हो। आगामी वर्षहरूमा अझ प्रभावकारी कार्यक्रम ल्याउने योजना बनाएका छौँ’ उहाँले भन्नुभयो।

उपाध्यक्ष सिता खड्का पुन ले सोचेजस्तो संख्यामा आवेदन नआएपनि प्राप्त कृषकले राम्रै काम गरिरहेको उल्लेख गर्दै भविष्यमा सबै कृषक सहभागीताको लागी आग्रह गर्नुभयो। ‘‘कृषकको उत्पादन र योगदानको कदर गर्न हामीले सम्मान कार्यक्रम ल्याएका हौँ। यसपटक अपेक्षित संख्यामा आवेदन नपरे पनि आउने वर्षहरूमा सबै कृषकले सहभागिता जनाउनुहुनेछ भन्ने अपेक्षा छ“ उहाँले भन्नुभयो।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसी ले कृषि क्षेत्रको पर्वद्धनका लागी कृषक लक्षित कार्यक्रम अन्तर्गत पशुपन्छी बिमा, अनुदान, यान्त्रीकरणजस्ता योजनाहरू सञ्चालन भइरहेको उल्लेख गर्दै यो वर्ष पनि कृषकका लागि विशेष कार्यक्रम ल्याउने योजना रहेको जानकारी दिनुभयो। “गाउँपालिकाले कृषक लक्षित बिमा, अनुदान, यान्त्रीकरणजस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ। उत्कृष्ट कृषकको सम्मानमार्फत प्रेरणा दिनुका साथै आगामी वर्ष थप प्रभावकारी कार्यक्रम ल्याउने योजना बनाएका छौँ। कृषकहरूबाट पनि राम्रो सुझाव पाउने अपेक्षा गरेका छौँ।“ उहाँले भन्नुभयो ।

खसीबोका बिक्रीबाट ३ करोडभन्दा बढी आम्दानी

गाउँपालिकामा याे वर्षा खसीबोका व्यवसायबाट कराेडाै आम्दानी भएको छ । चालु आर्थिक वर्षमा १ हजार ५ सय ८८ वटा खसीबोका बिक्रीबाट ३ करोड २६ लाख ४३ हजार रुपैयाँभन्दा बढी आम्दानी भएको गाउँपालिकाले जनाएको छ । गत आर्थिक वर्षमा यो रकम २ करोड ३६ लाख रुपैयाँ थियो । कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम अन्तर्गत पालिकामा सूचिकृत सहकारी मार्फत खसीबोका बिक्रीमा प्रतिकिलो २० रुपैयाँ अनुदान दिँदै आइरहेको छ ।
गाउँपालिकाले सहकारी मार्फत बार्षिक जिउदो खसी १०० केजी भन्दा माथी बिक्री गर्ने कृषकलाई प्रती केजी २० रुपैयाँको दरले अनुदान दिने गरेको छ । यहाँका कृषकले घर–घरमा बाख्रापालन गर्ने गरेका छन् । व्यावसायिक बाख्रापालनका लागि कृषकलाई आर्कषित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकाले यस वर्ष ७५ कृषकका पशु बिमामा अनुदान समेत उपलब्ध गराएको छ ।
कुल बिमा रकम १ करोड ४ लाख रुपैयाँमध्ये ५७ हजार रुपैयाँभन्दा बढी पालिकाले व्यहोरेको हो । साथै, गण्डकी बहुउद्देश्यीय कृषि फर्मलाई ३५ हजार र कारेबास बहुउद्देश्यीय कृषि फर्मलाई ३० हजार रुपैयाँ अनुदान दिइएको छ । यहाँ उत्पादित खसीबोका काठमाडौं, पोखरा, दाङ लगायतका प्रमुख शहरमा निर्यात हुने गरेको छ ।

प्रकाशित मिति : २०८२ असार ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस