
सल्यान, ८ फागुन ।
सल्यानमा “एक जिल्ला, एक उत्पादन“ कार्यक्रम अन्तर्गत उद्यमशीलता विकास तथा फलफूल प्रशोधन र अचार बनाउने सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, सल्यानको आयोजनामा सञ्चालन गरिएको १५ दिने तालिम बिहिबार सम्पन्न भएको हो ।
तालिममा सल्यान जिल्ला भित्रका विभिन्न ९ स्थानीय तहका १५ जनाको सहभागी रहेको थियो । तालिममा सहभागीहरुलाई २० प्रकारका अचार बनाउने विधि सिकाइएको थियो । त्यस्तै फलफूल सङ्कलन, ग्रेडिङ, प्रशोधन, प्याकेजिङ, लेखा व्यवस्थापन, बजार विस्तार तथा उद्यमशीलता विकासका विषयमा पनि प्रशिक्षण प्रदान गरिएको कार्यालयको भनाई छ।
तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले सीप सिकेर स्वरोजगार बन्ने अवसरहरूबारे प्रकाश पार्दै अचार उद्योग सञ्चालन गरी आत्मनिर्भर बन्न सकिने बताउनुभएका थियो। जिल्ला समन्वय समितिकी उपप्रमुख असबिर बुढाथोकीले सल्यानमा पाइने जडीबुटी तथा कच्चा पदार्थहरूको भरपुर उपयोग गरी व्यावसायिकरूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।
नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष शिव डागीले उत्पादनलाई बजारसँग जोड्न आवश्यक रहेको बताउँदै व्यावसायिकरूपमा अघि बढ्न सहभागीहरूलाई आग्रह गर्नुभयो।
तालिममा सहभागीहरूले सिकेको सीपलाई भविष्यमा आम्दानीको स्रोतका रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। समापन कार्यक्रमको सहजीकरण सुचना अधिकारी ध्रुव खत्रीले गर्नुभएको थियो।