
सल्यान, १ जेष्ठ ।
सिद्ध कुमाख गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनसम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, सुर्खेतको आयोजनामा बिहीबार गाउँपालिकाको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भरत गीरीले स्थानीय सरकारको सुशासन प्रवर्द्धनमा यस्ता अन्तरक्रियात्मक कार्यक्रमले सहयोग पुर्याउने उल्लेख गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिहरूले राष्ट्रप्रति जिम्मेवारीका साथ पारदर्शिता र नियमको पालनामा काम गर्नुपर्ने बताउनुभएको थियो।
गाउँपालिका उपाध्यक्ष रामबहादुर बस्नेतले भ्रष्टाचारले व्यक्तिको प्रतिष्ठा र राष्ट्रको लगानी दुवैमा क्षति पुर्याउने हुँदा सबैजना सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभएको थियो। उहाँले भ्रष्टाचार रोक्न नागरिक समाजको सक्रिय सहभागिता आवश्यक रहेको धारणा समेत राख्नुभएको थियो।
कार्यक्रममा सहभागीहरूले आफ्ना जिज्ञासा तथा गुनासा राख्दै अख्तियारलाई विभिन्न सुझावहरू प्रस्तुत गरेका थिए। सहभागीबाट उठेका प्रश्नहरूको जवाफ दिदै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, सुर्खेतका प्रमुख रामकृष्ण पुडासैनीले उजुरीहरू कुनै पनि माध्यमबाट गर्न सकिने र उजुरी प्राप्त भएपछि त्यसको गहिरो अध्ययन गरेर मात्र निर्णय गरिने जानकारी दिनु भयो। साथै, सल्यानका स्थानीय तहहरुसंग सम्बन्धित उजुरीको विवरण प्रस्तुत गर्दै सिद्ध कुमाख सबैभन्दा कम (एक वटा)मात्रै उजुरी पर्ने स्थानीय तहको सुचिमा रहेको तथ्य समेत प्रस्तुत गर्नुभएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका उपसचिव मंगलबहादुर शाहीले कार्यक्रमका दौरान भ्रष्टाचारसम्बन्धी विषयमा प्रस्तुतिकरण दिनुभएको थियो। उहाँले भ्रष्टाचारको अवधारणा, कारण, कानुनी प्रक्रिया, अख्तियारको कार्यप्रणाली, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्था, भ्रम र वास्तविकता लगायतका पक्षमा जानकारी गराउनुभएको थिए।
कार्यक्रममा पालिका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्का विभिन्न शाखाका कर्माचारी वडा अध्यक्ष लगाएतले आफ्नो सान्दर्भिक भनाइ राख्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिहरू, विषयगत शाखाका कर्मचारी, माध्यमिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सामुदायिक वन उपभोक्ता समिति, खानेपानी उपभोक्त समिति पदाधिकारी सुरक्षाकर्मी , सञ्चारकर्मी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।