बागचौरलाई मानसिक स्वास्थ्य नमुना पालिकाको रूपमा विकास गरिने

सल्यान, ९ बैशाख ।
नेपाल सरकारको कार्यक्रमअनुसार सल्यानको बागचौर नगरपालिकालाई मानसिक स्वास्थ्य नमुना पालिका बनाउने उद्देश्यका साथ सरोकारवालाहरुलाई अभिमुखीकरण गरिएको छ।

नगर उपप्रमुख सुम्निमा डि.सी. वलीको अध्यक्षतामा सुरु गरिएको अभिमुखीकरण कार्यक्रममा मानसिक स्वास्थ्यका जटिल समस्या, विशेषगरी आत्महत्याका घटनाहरूमा न्यूनीकरण गर्ने लक्ष्य प्रस्तुत गरिएको हो। उपप्रमुख वलीले बागचौरमा आत्महत्या चिन्ताको विषय बनेको उल्लेख गर्दै, साझेदार संस्था सीएमसी नेपाल र सामी कार्यक्रमको सहकार्यमा सञ्चालन गरिएको विभिन्न कार्यक्रमहरूले आत्महत्या दर घटाउन सफल भएको बताउनुभयो।

“हामी मानसिक स्वास्थ्यप्रति गम्भीर छौं,” उहाँले भन्नुभयो, “समुदायस्तरमा बेरोजगारी, गरीबी, वैदेशिक रोजगारी, बालविवाह, प्रेम सम्बन्ध, ऋणजस्ता कारणले मानसिक समस्या देखिएको छ, यसका लागि स्थानीय सरकारको सक्रियता आवश्यक छ।”

विश्व स्वास्थ्य संगठनका डा. केदार मरहट्टाले कार्यक्रममा बोल्दै पछिल्लो समय नेपालमा मानसिक स्वास्थ्य समस्या तीव्र रूपमा बढिरहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार नेपालमा दैनिक करिब २० जनाले आत्महत्याबाट ज्यान गुमाइरहेका छन्। “मानसिक स्वास्थ्यमा तीनै तहको सरकारले प्राथमिकता दिई लगानी बढाउन जरुरी छ,” डा. मरहट्टाले जोड दिनुभयो।

बागचौर नगरपालिका स्वास्थ्य शाखा प्रमुख विनय डि.सीले सीएमसी नेपालको सहकार्यमा चलाइएको मानसिक स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै गएको बताउँदै सेवाग्राहीको संख्या बढ्दो क्रममा रहेको जानकारी दिनुभयो। यद्यपि बजेट अभावका कारण कार्यक्रमलाई अझ व्यापक रूपमा विस्तार गर्न कठिनाइ भएको उहाँले उल्लेख गर्नुभयो।

त्यस्तै, सीएमसी नेपालका कार्यक्रम अधिकृत अनत चौधरीले आत्महत्या न्यूनीकरणमा प्रवर्द्धन परियोजनाले महत्वपूर्ण भूमिका खेलेको जानकारी दिनुभयो। उहाँले स्वावलम्बन समूहमार्फत जनचेतनामूलक गतिविधिहरू सञ्चालन भइरहेको बताउँदै, मानसिक स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्थानीय सरकारले अझ लगानी गर्नुपर्ने धारणा राख्नुभयो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजना, विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोग र बागचौर नगरपालिकाको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा नगर उपप्रमुख वली, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर कठायत, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विषयगत शाखा प्रमुखहरू, शिक्षक, स्वास्थ्य संस्थाका प्रतिनिधिहरू, नेपाल प्रहरी, पत्रकारलगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो।

मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम बैशाख ९ गतेदेखि १३ गतेसम्म विभिन्न चरणमा सञ्चालन हुने मानसिक स्वास्थ्य फोकल पर्सन टेकराज डि.सीले जानकारी दिनुभयो।

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस