भागिरथ र एलिनाको ‘बालै फरर’ युट्युब ट्रेन्डिङमा

सल्यान, १० जेष्ठ।

चर्चित लोक तथा दोहोरी गायक भागिरथ चलाउनेको नयाँ गीत ‘बालै फरर’ युट्युबको ट्रेन्डिङ सूचीमा प्रवेश गरेको छ।यो समाचार तयार पार्दा सम्म अहिले यो गीत युट्युबको ट्रेन्डिङ नम्बर १८ मा रहेको छ।

नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएका गायक तथा संगीतकार भागिरथ चलाउनेले लामो समयपछि फरक शैलीको यो गीत लिएर आएका हुन्। परम्परागत लोक शैलीलाई छाड्दै उनले यो पटक डान्सिङ बिटमा आधारित गीत पस्किएका छन्। फ्यानहरूको चाहनालाई ध्यानमा राख्दै तयार पारिएको यस गीतमा गायिका एलिना चौहानले भागिरथलाई स्वरमा साथ दिएकी छन्।

गीतका शब्द दिपेन्द्र चलाउनेले लेखेका हुन् भने संगीत भागिरथ स्वयंले दिएका छन्। “कोईले ले ल्याए गुण, भगवान कोईले ल्याए रुन।।। कालो गए गोरो आउँछ, गोरो गए कालो बालै फरर‘” जस्ता शब्दले गीतमा रमाइलोपन थपेको छ।

बिक्रम चौहानको निर्देशनमा बनेको म्युजिक भिडियोमा अभिनेत्री प्रियंका कार्की र बिक्रम बुढाथोकीको आकर्षक अभिनय देख्न सकिन्छ। गीत भागिरथ चलाउनेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

युट्युबमा छोटो समयमै लोकप्रियता हासिल गरेको यो गीतले दर्शक(श्रोताको साथ पाउँदै, संगीतप्रेमीहरूका बिच चर्चा कमाएको छ।
हेर्नुस् भिडियो।

प्रकाशित मिति : २०८२ जेष्ठ १० गते शनिवार
प्रतिक्रिया दिनुहोस