बागचौर फेरि विजयी, त्रिवेणीमाथि १३ रनको रोमाञ्चक जित

सल्यान, ८ बैशाख ।
सल्यानमा सञ्चालित दोस्रो शारदा मेयर न्यु एयर टि–ट्वान्टी कप क्रिकेट प्रतियोगिताको चौथो खेलमा बागचौर नगरपालिका विजयी भएको छ । शारदा नगरपालिकाको आयोजना तथा जिल्ला क्रिकेट संघ सल्यानको समन्वयमा जारी अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिताको सोमबार बिहान सम्पन्न खेलमा त्रिबेणी गाउँपालिकालाई १३ रनले हराउदैँ बागचौर नगरपालिकाले अपराजित यात्रा जारी राखेको हो । लुहापिङ खेलमैदानमा बागचौरले टस हारेर पहिले ब्याटिङ गरेको थियो ।

कुनै समय ३ ओभरमा ४ विकेट गुमाएर ११ रन बनाएको बागचौर टिम क्याप्टेन बामदेब केसी र हेमराज बस्नेतको आक्रमक साझेदारीमा १७२ रनको योगफल बनाउन सफल भएको हो । केसीले ५३ बलमा ६७ रन र बस्नेतले ४९ बलमा ६२ रन बनाउनु भयो । यि दुबै ब्याट्सम्यानले पाँचौ विकेटका लागि ९६ बलमा १४४ रनको साझेदारी गर्नुभयो । बागचौरका अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बागचौरले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो । जसमा त्रिबेणीका सुरज केसीले ४ ओभरमा २७ रन खर्चिदै ३ विकेट लिनुभयो । यस्तै बिमल कुमार पुन र सोमराज केसीले १/१ विकेट लिनुभयो ।

१७३ रनको लक्ष्य पछ्याएको त्रिबेणी २० ओभर खेल्दै ८ विकेट गुमाएर १५९ रनमा समेटियो । त्रिबेणीका सुरज केसीले ३६ बलमा ५२ रन बनाए पनि जितको लागी पर्याप्त हुन सकेन । यस्तै मोहन केसीले ३० मा ४१ र बिमल कुमार पुनले २० मा २३ रन बनाउनुभयो । बागचौरका गगन वलीले ४ ओभरमा २३ रन खर्चिदै ३ विकेट लिनुभयो । यस्तै मिसन बस्नेतले २ र बामदेव केसीले १ विकेट लिनुभयो । २ खेल खेलेको बागचौर दुबै खेल जितेर शिर्ष स्थानमा छ । बागचौरका हेमराज बस्नेत प्लेयर अफ द म्याच बन्नुभयो ।

प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस