
सल्यान, ७ बैशाख ।
सल्यानमा सञ्चालित दोस्रो शारदा मेयर न्यु एयर टि–ट्वान्टी कप क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा बागचौर नगरपालिका विजयी भएको छ । शारदा नगरपालिकाको आयोजना तथा जिल्ला क्रिकेट संघ सल्यानको समन्वयमा जारी अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिताको आइतवार दिउँसो सम्पन्न खेलमा बन्गाड कुपिण्डे नगरपालिकालाई ४ विकेट हराउदैँ बागचौर नगरपालिका विजयी भएको हो । लुहापिङ खेलमैदानमा बन्गाड कुपिण्डेले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।
बन्गाड कुपिण्डेले २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १३९ रन वनाएको थियो । बन्गाड कुपिण्डेका लोकराज विसीले ३९ वलमा ३७ रन वनाउँदा गणेश पुनले १४ बलमा २४ रन र भरत विसीले ३० बलमा २३ रन बनाउनुभएको थियो । तर अरु ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बागचौरका गगन वलीले ४ ओभरमा १९ रन खर्चिदैँ २ विकेट लिनुभयो । यस्तै राजन वलीले २ तथा बामदेव केसी, निर्मल डाँगी र हेमराज बस्नेतले १/१ विकेट लिनुभएको थियो ।
१४० रनको लक्ष्य पछ्याएको बागचौर नगरपालिकाले १५ ओभर ४ बलमा ६ विकेट गुमाउदैँ लक्ष्य भेट्टायो । बागचौरको जीतका लागि ओपनर किशोर वलीले विस्पोटक ब्याटिङ गर्दै २८ वलमा ४१ रनको योगदान दिनुभयो । यस्तै सुर्य सुनारले ३० बलमा ३६ रन तथा बामदेव केसीले १३ बलमा २३ रन बनाउनुभएको थियो । बन्गाड कुपिण्डेका सुरज बुढाले ४ ओभरमा २७ रन खर्चिदैँ २ विकेट लिनुभयो । यस्तै भरत विसीले २ र वकिल रानाले १ विकेट लिनुभएको थियो ।
यसखेलमा उत्कृष्ट ब्याटिङ गर्ने बागचौरका किशोर वली प्लेयर अफ द म्याच घोषित हुनुभयो । प्रतियोगिताको विजेता टोलीले एक लाख नगद र उपविजेता टोलीले पचास हजार नगद प्राप्त गर्ने छ ।