जन्मदिनमा अनौठो पहलः विद्यार्थी नेता पुन द्वारा ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान

सल्यान, २ फागुन।

सल्यानका एक युवा विद्यार्थीले जन्मदिनलाई ज्येष्ठ नागरिकको सेवामा समर्पित गरेका छन्। रौनकपूर्ण भोज–भतेरमा सीमित नराखी अनेरास्ववियु सल्यानका अध्यक्ष विशाल पुन मगरले जन्मदिनको अवसर पारेर दाङको घोराही–१६, तेरौटेमा रहेको ज्येष्ठ नागरिक सरोकार केन्द्रमा स्वास्थ्य जाँच तथा औषधि वितरण गरेका हुन्।
सन्तानको मायाबाट टाढा रहेका १८ जना ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै पुन मगरले ३५,००० रुपैयाँ बराबरको औषधि, फलफूल वितरण गर्नुका साथै स्वास्थ्य परीक्षणको व्यवस्था गरेका थिए। कार्यक्रममा डा. विजय जिसीको नेतृत्वमा स्वास्थ्य जाँच तथा परामर्श प्रदान गरिएको थियो।
कार्यक्रमका अवसरमा अनेरास्ववियुका विद्यार्थी नेता, शिक्षक तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो। पुन मगरले जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै ज्येष्ठ नागरिकहरूलाई आवश्यक स्वास्थ्य सेवा र भावनात्मक सद्भाव प्रदान गर्न यो कार्यक्रम आयोजना गरिएको बताए।
ज्येष्ठ नागरिकहरूले पुन मगरको मानवीय सेवाभावको प्रशंसा गर्दै गरिएको योगदानका लागि धन्यवाद समेत व्यक्त गरेका थिए।

प्रकाशित मिति : २०८१ फाल्गुन २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस