
सल्यान, ७ बैशाख । राप्ती राजमार्गअन्तर्गत दाङ– सल्यान सडकखण्डको कपुरकोट देखि राम्रीसम्म सडक स्तरोन्नति कार्यका लागि एक हप्ता सवारी आवागमनमा रोक लगाइने भएको छ।
सडक डिभिजन कार्यालय दाङले सार्वजनिक सूचना जारी गर्दै वैशाख ८ गतेदेखि १४ गतेसम्म दैनिक पाँच घण्टा उक्त सडकखण्ड बन्द गरिने जानकारी दिएको छ। कार्यालयका अनुसार, बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक स्तरोन्नतिको काम अघि बढाइने भएकाले सवारी साधनको नियमित आवागमन रोकिनेछ।
सडक डिभिजन दाङका अनुसार नियमित सवारी सञ्चालनले स्तरोन्नति कार्यमा प्रभाव परेको हुँदा समय अनुसार सडक बन्द गरेर कार्य अघि बढाउन लागिएको हो।
साना तथा अत्यावश्यक सवारी साधनका लागि पैयाखोरिया–सातावास–किमुचौर–कपुरकोट सडक वैकल्पिक मार्गको रूपमा प्रयोग गर्न सकिने सूचनामा उल्लेख गरिएको छ। ठूला सवारी साधन भने निर्धारित समय अवधिमा आवागमन गर्न नपाउने भएकाले दैनिक जाम र असुविधा हुने सम्भावना डिभिजनले जनाएको छ।
सडक डिभिजन कार्यालयले यात्रु, चालक र सर्वसाधारणलाई असुविधाका लागि क्षमायाचना गर्दै वैकल्पिक व्यवस्थामा सहयोग गर्न अनुरोध गरेको छ।
