त्रिवेणी गाउँपालिकामा निःशुल्क पशु स्वास्थ्य शिविर, ४ हजारभन्दा बढी पशुको उपचार

सल्यान, २२ फागुन ।

सल्यानको त्रिवेणी गाउँपालिकामा आयोजित निःशुल्क पशु स्वास्थ्य शिविरमा ४ हजार ५६३ पशुपंक्षीको उपचार गरिएको छ। त्रिवेणी गाउँपालिकाको पशु सेवा शाखाको आयोजनामा त्रिवेणी गाउँपालिका-४, पुरानो दरबारमा सञ्चालन भएको एकदिने शिविरमा पशुहरूमा देखिने विभिन्न आन्तरिक तथा बाह्य रोगहरूको नियन्त्रण तथा रोकथामका लागि खोप, औषधि वितरण तथा व्यवस्थित पशुपालन सम्बन्धी परामर्श प्रदान गरिएको पशु सेवा शाखा प्रमुख बसन्त रावतले जानकारी दिनुभयो।

गाउँपालिकाले पशु सेवा केन्द्रहरूबाट टाढा रहेका पहाडी बस्ती तथा पशुपालनको बाहुल्यता भएको क्षेत्रलाई लक्षित गरी शिविर सञ्चालन गरेको हो। शिविरमा १९२ जना किसानका पशुपंक्षीको उपचार तथा औषधि वितरण गरिएको थियो। गाउँमै शिविर सञ्चालन भएपछि पशुपालक किसानहरू खुशी भएका छन्। उनीहरूले पशुमा समस्या देखिएमा टाढा जानुपर्ने वा निजी एग्रोभेटका प्राविधिक बोलाउँदा महँगो खर्च गर्नु परिरहेको बताउँदै शिविरमार्फत सहज र निःशुल्क उपचार पाउन सकेको प्रतिक्रिया दिएका छन्।

शिविरमा त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावत, उपाध्यक्ष सीता खड्का पुन, वडा नं. ४ का वडाध्यक्ष छविराज शर्मा लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस