कपुरकोट हाटबजारमा कृषि पूर्वाधारको विस्तार: नयाँ संरचनाको उद्घाटन

सल्यान, २७ पुस।

सल्यानको कपुरकोट हाटबजार परिसरमा नवनिर्मित विभिन्न संरचनाको उद्घाटन गरिएको छ। सनिश्चवार एक कार्यक्रमका बीच चिस्यान केन्द्र, कृषि मिनी ल्याब, कृषि परामर्श केन्द्र र कोसेली घरसहितका तीनवटा भवनको उद्घाटन गरिएको हो।

नवनिर्मित विभिन्न संरचनाको संघीय सांसद तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र कर्णाली प्रदेश सांसद तथा पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले संयुक्त रूपमा गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री ज्वालाले कपुरकोट बेमौसमी तरकारी उत्पादनका लागि मात्र नभई फलफूल र जडीबुटी उत्पादनका हिसाबले पनि महत्वपूर्ण क्षेत्र भएको बताउनुभयो। उहाँले सिचाइँ, ढुवानी र सडक निर्माणजस्ता पूर्वाधारमा संघ, प्रदेश, र स्थानीय सरकारको विशेष ध्यान रहेको उल्लेख गर्नुभयो। कपुरकोट तरकारीको राजधानी हो। यहाँका कृषकको उत्पादनलाई सहज बनाउन सिचाइँदेखि ढुवानीसम्मका पूर्वाधारमा सरकारले विशेष जोड दिएको छ, उहाँले भन्नुभयो।

कर्णाली प्रदेश सांसद तथा पुर्व मन्त्री भीमप्रकाश शर्माले कपुरकोट तरकारी उत्पादनका लागि देशकै प्रसिद्ध र कर्णालीको पहिचानकारुपमा रहेकाले यसलाई प्रवद्र्धन गर्न प्रदेश सरकारबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। उहाँले विकास निर्माणका क्षेत्रमा सबैले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो। आफु प्रदेश सरकारमा कृषि मन्त्री हुँदा कृषकको हकहितका लागि अघि सारेका योजनाहरुले अहिले उपलब्धि हासिल गरिरहेको पनि बताउनुभयो। कपुरकोट देशकै तरकारी उत्पादनमा अग्रणी क्षेत्र हो। यो कर्णालीको पहिचान हो, र यसलाई प्रवद्र्धन गर्न प्रदेश सरकारबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु, उहाँले भन्नुभयो।

कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुन, उपाध्यक्ष प्रकाश भण्डारी, प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वली, विभिन्न वडाका अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि र कृषकहरूले बोल्नु भएको थियो। कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष तिलक शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहजीकरणसहसचिव तेजबहादुर थापाले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८१ पुष २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस