
सल्यान, ९ माघ।
सल्यानको सिद्ध कुमाख गाउँपालिकामा व्यवसायिक च्याउ खेतीसम्बन्धी तालिम सुरु भएको छ। “पौष्टिकयुक्त च्याउ खेती गरौँ, आम्दानी बढाऔँ” भन्ने नाराका साथ गाउँपालिकाले दुईदिने तालिम संचालन गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष भरत गिरीले कृषकलाई व्यवसायिक र उद्यमशील बन्न प्रेरित गर्न सुझाव दिनुभएको छ। उहाँले सिद्ध कुमाख गाउँपालिका कृषकको हकहित र विकासका लागि सधैं सक्रिय रहेको उल्लेख गर्नुभयो।
उपाध्यक्ष राम बहादुर बस्नेतले कृषकलाई तालिम लिएर च्याउ खेतीलाई व्यवसायिक रूपमा अघि बढाउन आग्रह गर्नुभएको थियो। वडा नं। ४ का वडाध्यक्ष खर्कविर रोकाले पनि कृषकलाई आत्मनिर्भर बन्न प्रेरित गर्नुभयो।

गाउँपालिकाका अनुसार, तालिममा सहभागी कृषकलाई च्याउ खेतीसम्बन्धी आधुनिक सीप प्रदान गरिनेछ। साथै, ५० प्रतिशत अनुदानमा च्याउको विउ उपलब्ध गराइनेछ। तालिममा च्याउ खेतीका प्रविधि, उत्पादन वृद्धि उपाय, र व्यावसायिक रणनीतिबारे जानकारी दिइँदैछ।
तालिममा पालिका भित्रका विभिन्न वडाका कृषकहरुको सहभागीता रहेको छ। तालिम माघ १० गतेसम्म संचालन हुने कृषि अधिकृत सुरज पौडेलले जानकारी दिनुभयो।