
सल्यान, १४ चैत्र।
सल्यानमा उत्कृष्ट ३ जना पशुपालक कृषक सम्मानित भएका छन् । जिल्ला स्तरिय मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम अन्तर्गत पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जिल्ला भित्रबाट ३ जना उत्कृष्ट पशुपालक कृषकलाइ छनोट गरेर सम्मान गरेको हो ।
प्रथम स्थान प्राप्त गरि सम्मान हुनेमा बागचौर नगरपालिका १ ठिनबाङ निवासी बाख्रा फर्म संचालन गरिरहेका कृषक कैलाश केसी रहेका छन् । उनलाइ ३० हजार नगद सहित प्रमाणपत्रले सम्मान गरिएको हो ।
त्यसैगरी दोस्रो स्थानमा बनगाड कुपिण्डे नगरपालिका १ निवासी भैंसी पालन व्यवसायी गरिरहेका दिप बहादुर बस्नेतलाइ २५ हजार नगद सहित सम्मान गरिएको हो भने तेस्रो स्थानमा बनगाड कुपिण्डे नगरपालिका ८ निवासी बाख्रा पालन व्यवसायी गरिरहेका भुपेन्द्र पुनलाइ २० हजार सहित सम्मान गरिएको छ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको आयोजनामा बिहिबार बरलामा भएको वर्डफ्लु तथा जुनोटिक रोगसम्बन्धी सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रमको अवसरमा उनिहरुलाइ सम्मान गरिएको हो ।
कार्यक्रममा वर्डफ्लु, इकाइनोकोकक्स, रेबिज लगायत जुनोटिक रोगहरूको बारेमा अन्तरक्रिया गरिएको थियो । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोबिन्द बहादुर महतले ति रोगहरु फैलिने अवस्था बच्ने उपायबारे कार्यक्रममा प्रस्तुतीकरण गर्नुभएकाे थियाे ।
प्रमुख जिल्ला अधिकारी साबित्रा पुनको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावल, निराजन मावि ढोरचौरका प्रधानध्यापक धर्मराज घर्ती, सल्यान उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष राजेन्द्र भण्डारी, ढाकाडम महिला साना किसान दार्माका प्रमुख सुरेन्द्र प्रकाश केसी लगायतले आफ्नो भनाइ राख्नुभएकाे थियाे ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका कर्मचारी शर्मिला बुढाथोकीको स्वागत मन्तव्यबाट सुरुको भएको कार्यक्रमको सहजिकरण योजना शाखा प्रमुख विरेन्द्र केसीले गर्नुभएकाे थियाे ।