शारदाको प्राथमिकता कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन

सल्यान, ४ असार।
शारदा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरप्रमुख प्रकाश भण्डारीले नगरसभाको १७औँ अधिवेशनमार्फत प्रस्तुत गर्नुभएको नीतिमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, उद्यमशीलता लगायत बहुआयामिक क्षेत्रलाई प्राथमिकता दिइएको छ।

नगरपालिकाले कृषिमा आत्मनिर्भरता र व्यवसायीकरणको लक्ष्यसहित उच्च मूल्यका बाली प्रवद्र्धन, गुणस्तरीय बीउको आपूर्ति, घुम्ती माटो परीक्षण, कृषियन्त्र वितरण लगायतका कार्यक्रम निरन्तरता दिने जनाएको छ। सुन्तला, ओखर, मौरीपालन विस्तार, बाँझो जमिन उपयोग तथा जलवायुअनुकूल तरकारी खेतीलाई समेत जोड दिइएको छ।

पशुपालनमा विशिष्ट जातका पशु, कृत्रिम गर्भाधान, खोप, पशु दाना उत्पादन र गौशाला व्यवस्थापनमार्फत व्यवसायीकरणलाई अघि बढाइनेछ। यस्तै, युवा, महिला र पिछडिएका वर्गलाई लक्षित गर्दै सीप विकास तालिम, स्वरोजगारका लागि सामग्री उपलब्धता, लघु उद्यम प्रवद्र्धन, र उत्कृष्ट कृषक पुरस्कार योजना पनि समावेश गरिएको छ। पर्यटन क्षेत्रमा खैरावाङ्ग मन्दिर क्षेत्रको विकास, बुद्धपार्क संरक्षण, होमस्टे प्रवद्र्धन र सूचना केन्द्र स्थापनालगायत कार्यक्रम अघि सारिएको छ।

शिक्षामा सबै बालबालिकालाई गुणस्तरीय, प्रविधिमैत्री र रोजगारमुखी शिक्षा उपलब्ध गराउने लक्ष्यसहित १० वर्षे योजना लागू गरिनेछ। बालविकास कक्षाका शिक्षकलाई तालिम, सुरक्षित शैक्षिक वातावरण, छात्रावासमार्फत असहाय बालबालिकालाई शिक्षा र सार्वजनिक विद्यालयमा पूर्वाधार सुधारका कार्यक्रम पनि समावेश छन्।

स्वास्थ्य क्षेत्रमा विशेषज्ञ शिविर, पोषण आहार वितरण, मानसिक स्वास्थ्य सेवा, स्तनपान कक्ष स्थापना र दीर्घरोगीको मासिक उपचार खर्चसमेत नीति तथा कार्यक्रममा उल्लेख छ। कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले अधिवेशनमा बोल्दै नीति निर्माणमा देखिएको कमजोरी नै विकासको मुख्य अवरोध भएको धारणा व्यक्त गर्नुभयो।

प्रदेशसभा सदस्य लक्ष्मी सुनार, जिल्ला समन्वय समिति प्रमुख बेलाराम रावल र उपप्रमुख असविर बुढाथोकीले प्रस्तुत नीति जनमुखी र समावेशी भएको उल्लेख गर्नुभयो। नगरपालिकाले ‘शून्य बेरुजु’ नीति अवलम्बन गर्दै आन्तरिक प्रणाली सुधार र कर्मचारी तालिममा समेत ध्यान दिने बताएको छ।

प्रकाशित मिति : २०८२ असार ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस