
सल्यान, ०३ असार।
सल्यानको शारदा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम तथा बजेट तर्जुमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नगरपालिका भित्रका विभिन्न वडाबाट सहभागी नागरिक, राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघ संस्था, शिक्षक, व्यवसायी, कृषक,पत्रकार र सरोकारवाला निकायहरूको उपस्थिति थियो। सहभागीहरूले आगामी वर्षको बजेट नागरिकको आवश्यकता, प्राथमिकता र व्यवहारिकतामा आधारित हुनुपर्नेमा जोड दिए छन। स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी सिर्जना, विपन्न र सीमान्तकृत समुदायका लागि लक्षित कार्यक्रम, शुद्ध खानेपानी, सडक तथा सिँचाइजस्ता पूर्वाधारमा बजेटको प्राथमिकता दिनुपर्नेमा सहभागीहरुले माग राखेका थिए।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रकाश भण्डारीले बजेट निर्माण प्रक्रिया नागरिकको प्रत्यक्ष सहभागितामा आधारित हुनुपर्नेमा भन्दै। प्राप्त सुझावहरूलाई नीति तथा कार्यक्रममा समेटिने उल्लेख गर्दै जनमुखी, पारदर्शी र समावेशी बजेट ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो “बजेट निर्माण कुनै कार्यालयको गोप्य काम होइन, यो जनताको सहभागितामा बन्ने दस्तावेज हो। हामीले नागरिकबाट प्राप्त सुझावलाई नीति तथा कार्यक्रममा समेट्नेछौं। जनताको चाहना अनुसार जनमुखी र समावेशी बजेट ल्याउने प्रतिबद्धता हाम्रो छ।
त्यस्तै उप–प्रमुख सुस्मिता सापकोटा सुनारले बजेट निर्माण प्रक्रियामा महिलाहरूको भूमिका, लैङ्गिक समानता, बालमैत्री कार्यक्रम, युवा तथा कृषिमा आधारित योजनाहरूमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा विभिन्न वडाका प्रतिनिधिहरूले देखिएका समस्या, प्राथमिकता र आवश्यकताका बारेमा आफ्ना माग तथा धारणा राखेका थिए। नगरपालिकाले प्राप्त सुझावहरूलाई आधार बनाई आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम तथा बजेट निर्माण प्रक्रिया अघि बढाइने जनाएको छ।