कपुरकोटमा पहिलो पालिका स्तरीय युवा सम्मेलन सम्पन्न सल्यान

सल्यान, ११ जेष्ठ।

गाउँपालिकामा पहिलो पटक पालिका स्तरीय युवा सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। कपुरकोट गाउँपालिकाको आयोजनामा, आइ एम स्वीडीस डेभलप्मेन्ट पार्टनर र दलित विकास समाज सल्यानको आर्थिक तथा प्राविधिक सहयोगमा सम्मेलन सम्पन्न भएको हो।

गाउँपालिका सभाहलमा आयोजित कार्यक्रममा उपाध्यक्ष प्रकाश भण्डारीको अध्यक्षता तथा अध्यक्ष दुर्गा बहादुर पुनको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, गाउँसभा सदस्यहरू, दलित विकास समाज (DDS) का परियोजना संयोजक, नेपाल युवा संस्था सञ्जालका प्रतिनिधि, समाज जनजागरण केन्द्रका अध्यक्ष, पत्रकार, सुरक्षाकर्मी, टोल विकास संस्था प्रतिनिधि तथा ६ वटै वडाबाट करिब १५० युवाको उल्लेखनीय सहभागिता रहेको थियो।

सम्मेलनको उद्देश्य युवाको सिर्जनशीलता, सोच र सहभागितालाई समृद्धिको दिशामा अभिमुख गराउँदै नेतृत्व विकास, समस्या–चुनौतीको पहिचान र समाधानमा सक्रिय बनाउनु रहेको बताइएको छ। कार्यक्रममा युवासम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति, गाउँपालिकाको असल अभ्यास, दलित विकास समाजको युवा तथा महिला सम्बन्धी कार्यहरूको प्रस्तुति, र प्यानल छलफलमार्फत युवाका मुद्दामा गहन छलफल गरिएको थियो। कार्यक्रमको समापनमा सहभागी सरोकारवालाहरूको सहमतिमा १६ बुँदे घोषणापत्र जारी गर्दै युवाका मुद्दामा प्रतिवद्धता जनाइएको थियो।

कपुरकोट गाउँपालिका स्तरीय युवा सञ्जाल गठन

सम्मेलनमार्फत कपुरकोट गाउँपालिका स्तरीय युवा सञ्जाल गठन गरिएको छ। नवगठित सञ्जालमा विवेक बोहरा अध्यक्ष, तारा परियार उपाध्यक्ष, यामकुमारी घर्ती समावेशी उपाध्यक्ष, चित्रबहादुर महतरा सचिव, गोपाल गौतम सह–सचिव, रिता ओली कोषाध्यक्ष तथा रमेश केसी, नन्दा महतरा, यमुना खड्का, प्रेम बोहरा, मनोज पुन र राधिका बुढा सदस्य रहेका छन्।

प्रकाशित मिति : २०८२ जेष्ठ १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस