सल्यानमा १२ घण्टादेखि विद्युत् अवरुद्ध

सल्यान, १६ फागुन ।

सल्यानमा १२ घण्टादेखि विद्युत् सेवा अवरुद्ध हुँदा सर्वसाधारण मारमा परेका छन्। बिहीबार राति आएको हावाहुरीका कारण लुहामदेखि लान्ति आसपासका विभिन्न स्थानमा फल्ट आएपछि विद्युत् आपूर्ति ठप्प भएको हो।

नेपाल विद्युत् प्राधिकरण सल्यान शाखाका अनुसार समस्या समाधानका लागि प्रयास जारी छ। तर, विद्युत् वितरण केन्द्र सल्यानका प्रमुख दिनेश पौडेलका अनुसार फल्ट पत्ता लगाउन नै कठिनाइ भइरहेको छ। “कहाँ–कहाँ समस्या छ भन्ने यकिन नभएकाले विद्युत् पुनः सञ्चालनमा कहिले आउने निश्चित भन्न सकिन्न,” उहाँले भन्नुभयाे।

विद्युत् अवरुद्ध हुँदा सञ्चारमाध्यम, व्यवसाय, तथा अन्य क्षेत्रका गतिविधि प्रभावित भएका छन्। लामो समय लोडसेडिङ नभएको अवस्थामा अचानक विद्युत् सेवा अवरुद्ध हुँदा दैनिक कार्य सञ्चालन गर्न कठिन भएको स्थानीयले बताएका छन्। सर्वसाधारण छिटो सेवा सुचारु गर्न आग्रह गरिरहेका छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस