सल्यानमा पेट्रोल अभावबारे बैठक: नियमित आपूर्तिको प्रतिबद्धता

सल्यान, ८ फागुन।

सल्यानको प्रमुख व्यापारीक केन्द्र श्रीनगरका पेट्रोल पम्पहरूमा पटक–पटक देखिएको पेट्रोल अभावका विषयमा बैठक सम्पन्न भएको छ। बिहिबार जिल्ला प्रशासन कार्यालय सल्यानको आयोजनामा सर्वदलीय, सर्वपक्षीय बैठक सम्पन्न भएको छ।

बैठकमा सरोकारवाला निकायका प्रतिनिधिहरू तथा पेट्रोल पम्प सञ्चालकहरूबीच पेट्रोल अभाव समाधानबारे विस्तृत छलफल गरिएको थियो। उपभोक्ताहरूले पेट्रोल अभावका कारण भोगिरहेको समस्या बैठकमा प्रमुख रूपमा उठाइएको थियो।
छलफलपछि पेट्रोल पम्प सञ्चालकहरूले पेट्रोलको नियमित आपूर्ति सुनिश्चित गर्ने, अभाव हुन नदिने तथा उपभोक्ताहरूलाई आवश्यक मागअनुसार सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। साथै, श्रीनगरका दुईवटा पेट्रोल पम्पहरूले समन्वय गरी उपभोक्तालाई आवश्यक परेको बेला पेट्रोल सहज रूपमा उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय गरिएको छ।

पेट्रोल आपूर्तिको अवस्थालाई नियमित रूपमा अनुगमन गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयले लिने भएको छ। पेट्रोल पम्प सञ्चालकहरूको प्रतिबद्धतासँगै अहिले पेट्रोल अभावका कारण हैरानी भोगिरहेका उपभोक्ताहरूलाई राहत मिल्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस