प्रचण्ड र विप्लव एउटै मञ्चमा, सल्यानको बागचौरमा विपिन भण्डारीको शालिक अनावरण गर्ने


सल्यान, २८ माघ ।

सल्यानको बागचौरमा पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ एउटै मञ्चमा देखिने भएका छन्। जनयुद्धका क्रममा वेपत्ता पारिएका विपिन भण्डारीको सम्झनामा निर्माण गरिएको शालिक अनावरण गर्न दुवै नेता फागुन १ गते बागचौर आउने भएका हुन्।

जनयुद्ध दिवसको अवसर पारेर आयोजना गरिने उक्त कार्यक्रममा प्रचण्ड र विप्लवले संयुक्त रूपमा शालिक अनावरण गर्नुका साथै एउटै मञ्चबाट सम्बोधन गर्नेछन्। सोमबार नेकपा सल्यानले पत्रकार सम्मेलन गर्दै कार्यक्रमको जानकारी गराएको हो।

कार्यक्रमलाई भव्य बनाउन नेकपाले जिल्लाव्यापी प्रचारप्रसार गर्ने र सरोकारवाला निकायहरूसँग छलफल गर्ने तयारी गरेको नेकपाका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज मोहलाल चन्द ‘आधार’ले जानकारी दिनुभयाे। उहाँका अनुसार, यो कार्यक्रम जनयुद्धका सहिदहरूको सम्मानमा आयोजित विशेष कार्यक्रम हुनेछ।

जनयुद्धका क्रममा विपिन भण्डारीलाई तत्कालीन राज्य पक्षका सुरक्षाकर्मीले काठमाडौंबाट वेपत्ता पारेका थिए। विपिन संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीका एकमात्र छोरा हुनुहुन्छ। उहाँको सम्झनामा परिवारले बागचौरमा ‘विपिन भण्डारी मेमोरियल पार्क’ निर्माण गरेको छ।

पत्रकार सम्मेलनमा इन्चार्ज चन्दसँगै केन्द्रीय सदस्य मदन चन्द, भिम भारती, जिल्ला सचिव अनिल खड्का, केन्द्रीय प्रतिनिधि सदस्य प्रकाश चन्द र जिल्लास्थित सञ्चारकर्मीहरूको उपस्थिति थियो।

प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस