
सल्यान, ११ माघ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २२ गतेदेखि देशव्यापी रूपमा सञ्चालन गर्ने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान–२०८१ का लागि विभिन्न जिल्लामा तयारी भइरहेको छ । पाठेघरको मुखमा लाग्ने क्यान्सर उन्मूलन गर्न एचपीभी खोप लगाइने मन्त्रालयले जनाएको छ । केही जिल्लामा खोप लगाउन योग्य छात्राको सङ्ख्या निर्धारण भइरहेको छ भने केही जिल्लामा खोप दिने स्वास्थ्यकर्मीलाई तालिम तथा प्रशिक्षण कार्यक्रम भइरहेको छ ।
सल्यानको शारदा नगरपालिकाले पनि स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिएको छ ।शुक्रवार सदरमुकाम खलंगामा नगरपालिकाको आयोजनामा एचपीभी खोप अभियानका लागि नगरका १५ वटै वडाका ३९ जना स्वास्थ्यकर्मीलाई तालिम दिइएको हो। नगरभित्रका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरुलाई विद्यालय र स्वास्थ्य संस्थामार्फत एचपीभी खोप प्रदान गरिने भएकाले स्वास्थ्यकर्मीहरुको सहजताका लागि तालिमको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिनुभयो। स्वास्थ्य सेवा कार्यालय सल्यानला अनुसार शारदा नगरपालिका सहित जिल्लाका झन्डै १३ हजार किशोरीहरुलाई एचपिभी खोप लगाइदै छ।