
सल्यान, १० माघ।
सिद्धकुमाखमा विपद् व्यवस्थापनसम्बन्धी शिक्षक अभिमुखीकरण कार्यक्रम सुरु सल्यानको सिद्धकुमाखमा विपद् व्यवस्थापनसम्बन्धी शिक्षकहरुलाई अभिमुखीकरण कार्यशाला सुरु भएको छ। बिहीबारदेखि गाउँपालिकाको सभा हलमा विपद्का समयमा सिकाइ निरन्तरताका लागि सिकाइ आपूर्ति तथा द्रुत सिकाइ योजना (ReAL) कार्यान्वयनसम्बन्धी प्रधानाध्यापक र शिक्षकहरूको लागि अभिमुखीकरण कार्यशाला सुरु भएको हो।
सिकाइ आपूर्ति र द्रुत सिकाइ योजना (ReAL) मार्फत आपतकालीन अवस्थामा समेत शिक्षण-शिक्षा प्रभावकारी बनाउन आवश्यक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको शिक्षा शाखा प्रमुख प्रतिभा वलीले जानकारी दिनुभयो। कार्यक्रमले शिक्षकहरूलाई शिक्षा निरन्तरताका नयाँ विधि र कार्यान्वयन प्रक्रियामा दक्ष बनाउने विश्वास गरिएको समेत उहाँले बताउनुभयो।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको कार्यशाला माघ ११ गतेसम्म सञ्चालन हुने छ। कार्यशालामा गाउँपालिकाभित्रका विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूले विपद्का समयमा सिकाइ निरन्तरताका उपाय र योजना कार्यान्वयनका विधिहरूको विषयमा प्रशिक्षण दिइने गाउँपालिकाले जानकारी दिएको छ।