सल्यान ।
समाजमा सचेतना फैलाउने उद्धेश्यले सल्यानमा प्रहरीले सडक नाटक अभियान सञ्चालन गरेको छ । जिल्लामा हुने सबै किसिमका हिंसा, अपराध, बालविवाह तथा अन्धविश्वास न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय सल्यानले सडक नाटक अभियान थालेको हो । स्थानीय तहसँगको सहकार्यमा समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै नागरिक सचेतीकरणका लागि सडक नाटक प्रर्दशन गर्न थालिएको हो ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेकै बेला जिल्ला प्रहरी कार्यालयले बिहीबार शारदा नगरपालिकाको खलंगा र श्रीनगरमा सडक नाटक देखाएको छ । यस्तै यो अभियान जिल्लाका दश वटै पालिकाका सञ्चालन हुने छ । समाजमा शान्तिसुरक्षा कायम गर्न र आपराधिक गतिविधिलाई रोक्नका लागि सडक नाटक अभियानलाई अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी नायव उपरिक्षक केशरकुमार न्यौपानेले जानकारी दिनुभयो ।
‘अहिलेसम्म हिंसा, अपराध, बालविवाह तथा अन्धविश्वास न्यूनीकरणका लागि गरिएका कार्यक्रम सभाहलमा निश्चित व्यक्ति सहभागी भएर सम्पन्न हुने गरेका छन्, जसका कारण ग्रामीण क्षेत्रमा बस्दै आएकाले थाहा नै पाउँदैनन्’ उहाँले भन्नुभयो ‘खुला स्थानमा सडक नाटक देखाउँदा के भैरहेको छ भनेर धेरै सर्वसाधारण जमघट हुन्छन्, नाटक हेर्छन् र मनोरञ्जन मात्र नभई धेरै कुरा सिक्ने अवसर पाउँछन् ।’
गत वर्ष अपराध तथा हिंसासम्बन्धी ८६ घटना भएका र यो आर्थि बर्षको चार महिनामा १६ मुद्दा प्रहरी कार्यालयमा दर्ता भएको उहाँको भनाइ छ । ‘कुनै पनि विद्यार्थीले विद्यालयमा शिक्षकले किताब पढाएका कुराभन्दा वृत्तचित्रमार्फत देखाएका कुरा छिटो सिक्ने र दिमागमा राख्ने गर्छन्, हामीले पनि त्यही प्रयास थालेका हौं, नागरिकलाई भन्नु भन्दा पनि नाटक हेरेरै धेरै कुरा सिकिने भएकाले नाटक अभियान प्रभावकारी हुने हाम्रो आँकलन छ, यो अभियान जिल्लाभर नै सञ्चालन हुन्छ’ उहाँले भन्नुभयो ।
उहाँले यस नाटकलाई सकेसम्म विभिन्न विद्यालयहरुमा पनि पु¥याउने योजना रहेको बताउनुभयो । पहाडी क्षेत्र भएकाले सडक नाटक प्रभावकारी हुनेभएकाले समेत सडक नाटकबाट अभियान थालनी गरेको उहाँको भनाई छ । पछिल्लो समय घरेलु हिंसा, महिला तथा बालबालिकामाथि हुने अपराधका घटनामा बृद्धि भएको तथ्याङ्क सार्वजनिक भैरहेको अवस्थामा यसको रोकथाम गर्नु चुनौति बनेको छ ।
सडक नाटक हेर्न आउनुभएका शारदा नगरपालिका–३ का श्रेष्मा पौडेलले नाटकबाट थुप्रै कुराको ज्ञान प्राप्त गरेको बताउनुभयो । ‘मैले सडक नाटकबाट बालविवाह, बहुविवाह गर्नु हुदैन्, लागुऔषधको कुलतमा फस्नुहुदैन् भन्ने ज्ञान राम्ररी सिके’ उहाँले भन्नुभयो ‘गलत कार्यले हाम्रो परिवार र समाजमा नकारात्मक असर पार्छ भन्ने सिक्न पाउँदा खुसी लागेको छ ।’
सडक नाटक हेर्नकै लागि सडक नाटक प्रदर्शनस्थलमा आउनुभएका शारदा नगरपालिका–६ का मधुबाबु बिसीले समाजमा घटेका यथार्थ घटनालाई समाबेश गरेर नेपाल प्रहरीले सडक नाटक मार्फत सचेतनाको अभियान थालनी गरेकोमा खुसी व्यक्त गर्नुभयो । समाजमा थुप्रै घटनाहरु बढिरहेका छन्, यसको न्युनिकरणमा खास्सै काम भएको देखिदैन् थियो, यो पटक सल्यान प्रहरीले निकै उत्कृष्ट अभियानको थालनी गरेको छ, यसले समाजमा सकारात्मक सन्देश दिन्छ भन्ने मलाई विश्वास छ’ उहाँले भन्नुभयो ।
सचेतना जगाउन सल्यान प्रहरीको सडक नाटक
प्रकाशित मिति : २०८१ मङ्सिर १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस