नेपाल बैंक लिमिटेड सल्यान शाखा स्थानान्तरणः पुरानो बसपार्क नजिकैबाट सेवा दिने

सल्यान, ९ मंसिर ।
नेपाल बैंक लिमिटेड सल्यान शाखाको कार्यालय स्थानान्तरण भएको छ । विगतमा सल्यानको सदरमुकाम खलंगाको ठण्डिसडकबाट सेवा दिदै आएको बैंकले अब पुरानो बसपार्क नजिकैँ जिल्ला प्रहरी कार्यालय सडक खण्डबाट सेवा दिन थालेको हो । आईतबार एक कार्यक्रमका बिच नयाँ कार्यालयको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनुवारले नेपाल बैंक लिमिटेडले सल्यानबाट नागरिकलाई लामो समय देखि सेवा दिदैँ आएको बताउदै सबै नागरिकको सहज पहुँच स्थापित गरि सेवा दिन सुझाव दिनुभयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बैंकमा सरकारको पनि लगानी भएकाले बैंकको फाईदाको लागि मात्रै नभएर जनताको सेवामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । पछिल्लो समय डिजिटल युगको समयमा बैंक खाता ह्याक हुने जस्ता थुप्रै घटना बढेकाले नागरिकहरुको बचत सुरक्षित गर्न र नागरिकलाई डिजिटल प्रविधिको विषयमा जनचेतना फैलाउनमा बैंकले विशेष जोड दिनुपर्ने समेत उहाँको भनाइ छ ।

कार्यक्रममा बोल्दै नेपाल बैंक लिमिटेड कर्णाली प्रदेश प्रमुख दिनेश पौडेलले कर्णाली प्रदेशमा सबैभन्दा पहिले सञ्चालनमा आएको सल्यान शाखाले सेवाग्राहीको चाहाना अनुसार सेवा दिइरहेको बताउनुभएको छ । यस्तै बैंकका सल्यान शाखा प्रबन्धक गायत्री भट्टराईले नेपाल बैंकको पुरानो कार्यालय रहेको ठाँउबाट भवन अभाव जस्ता समस्यामा नागरिकहरुले राम्रो सेवा नपाएको गुनासो गरेपछि नयाँ ठाँउमा शाखा स्थानान्तरण गरिएको र नयाँ ठाँउबाट पहिले दिन नसकेका सेवाहरु संचालन हुने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष सरिता चलाउने लगाएतले बोल्नु भएको थियो भने कार्यक्रमको सहजीकरण नेपाल बैंक लिमिटेडमा कार्यरत महेन्द्र केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस